Sunday, February 12, 2012

आयुर्वेदीय औषधि निर्माणमा बाँसको महत्व

 -वासुदेव पौडेल
कीर्तिपुर। नेपालमा पाईने आयुर्वेदीय एवम् आधुनिक औषधियुक्त महत्व बोकेका अपार जडीबुटीमध्ये बाँसपनि एक उपयोगी वनस्पति हो । आयुर्वेदीय दृष्टिकोणबाट अन्य विभिन्न वनस्पतिको चर्चा-परिचर्चा पाईए पनि बाँसको भने औषधिका रुपमा कमै चर्चा पाईन्छ । यसको औषधीय उपयोगिता सम्बन्धमा कमैलाई जानकारी भएका कारण नेपालको एक सर्वसुलभ वनस्पति बाँस औषधीय प्रयोगमा कम पाइन्छ ।

बाँसको आयुर्वेदिक महत्वका सम्बन्धमा प्रचारप्रसार त्यति नपाइए पनि बाँसबाट निस्कने एक किसिमको कपुरजस्तो सेतो पदार्थलाई हामीले खाने गरेका लगभग २५० किसिमका औषधिहरुमा मिसाईने गरिएको आयुर्वेद चिकित्सासँग सम्बन्धित चिकित्सकहरु बाताउछन् । नेपालमा धेरै पहिलेदेखि औषधि उत्पादनमा बाँसको प्रयोग पनि हुनेगरेको छ ।

नेपालमा समुद्र सतहदेखि ४००० मिटर सम्मको उचाइमा पाउन सकिने बाँस लगभग ५० प्रजातिका पाईने अनुमान गरिएको छ । एउटा स्वस्थ बाँसको रुख परिपक्व हुनका लागि पाँचदेखि आठ वर्ष लाग्नेगर्दछ ।  एउटा स्वस्थ बाँसले अन्य रुखहरुको तुलनामा ३५ प्रतिशत मानिसहरुका लागि आवश्यक अक्सिजन तयार गर्नसक्छ भने अन्य भन्दा दोब्बर मात्रामा मानिसका लागि अस्वस्थकर  कार्वनडाई अक्साईड सोस्ने हुदा यसलाई पर्यावरणीय दृष्टिकोणबाट समेत अत्यन्त महत्वपूर्ण वनस्पतिका रुपमा लिइन्छ ।
सामान्य निगालो वाँसदेखि तामा, धनु, तारे, साटे , गोपी आदि नामले चिनिने विभिन्न प्रजातिका बाँसको आ-आफ्नै महत्व रहेको पाउन सकिन्छ । समाजिकरुपमा बाँसको यसको उपयोगिता भएजस्तै आयुर्वेदिक दृष्टिकोणबाट पनि बाँसको अत्यन्त महत्व रहेको आयुर्वेद चिकित्सा क्षेत्रमा कार्यरत प्रा.डा चन्द्रराज सापकोटा बताउनुहुन्छ । आयुर्वेदिक दृष्टिकोणबाट बाँसको वास्तविक पहिचान र अनुसन्धान हुन नसक्दा यसको उपयोग गर्न नसकिरहेको उहाँ बताउनुहुन्छ ।
नेपालका प्रत्येक कुना कुनामा तामा -बाँसको मुनालाई) अमिल्याएर वा भुटेर विभिन्न अचार तथा तरकारीको परिकार खाने प्रचलन परापुर्वकालदेखि विद्यमान रहेको पाईन्छ । आयुर्वेदिक दृष्टिकोणबाट बाँसको महत्व भएपनि औषधि उत्पादन एवम् प्रयोगमा आम नेपालीहरु अझै पनि अनभिज्ञ भएको बताउदै उहाँले तामाको तरकारी मात्र खानाले पनि शरीरमा हुने कव्जियतको समस्यालाई टाढा भगाईदिने बताउनुभयो ।
कब्जियत समस्याको समाधानमात्र नभएर बाँसको जरालाई पोलेर लुता खटिरामा लगाउने हो भने त्यसबाट छाला सम्बन्धी विभिन्न रोगहरुको समेत उपचार  गरिन सक्ने बताउँदै प्रा.डा. सापकोटा भन्नुहुन्छ ” बाँसको भित्री आँख्लोमा हने वंशलोचन नामक पदार्थ शारीरिक दौर्वल्यता तथा स्वासप्रवाहको समस्या हटाउनका लागि अत्यन्त उपयोगी हुने गर्दछ” ।
बाँसको तामा खानाले मानिसमा खानाको अरुचि हटाउनुका साथै अपच लगायत पेटका विभिन्न समस्याहरुका लागि समेत उपयोगी हुने बताउदै आयुर्वेद चिकित्सा क्षेत्रमा अध्ययनरत  विद्यार्थी रेशम कुमार ढुङ्गानाले  हातखुटृा  भाँचिएका गम्भीर प्रकृतिका समस्यामा समेत बाँसको छिप्पेका पातहरु पिसेर लगाएमा भाँचिएका जोर्नीहरु समेत जोडिने जानकारी दिनुभयो ।
आयुर्वेद चिकित्साकै अर्का विद्यार्थी संदिप सुवेदी उक्त रसको सेवनले आँखाको तेज बढाउने, बाँसका पातको रसले पेटको चुर्ना मर्ने, लगायतका अन्य विभिन्न समस्यामा महत्वपूर्ण उपयोगि हुने बताउनुहुन्छ ।
शारीरिक रुपमा हुने दुर्वल्ाताका सम्बन्धमा बाँस विशेष महत्वपूर्ण हुने बताउने आयुर्वेद विषयका अन्य चिकित्सकहरु म्ाधुमेह,कुष्ठरोग लगायतका समस्याका लागि समेत बाँस उपयोगी हुने बताउँदै यसको उपयोगितालाई प्रंयोगमा ल्याउन सकेमा यसले नेपालको अर्थतन्त्रमा समेत ठूलो सहयोग पुग्नसक्ने बताईन्छ ।
नेपालका हिमाल,पहाड तथा तराईका सम्पूर्ण भुभागमा पाईने बाँस नेपालको अर्थतन्त्र विकासमा समेत  महत्वपूर्ण हुने बताउने वनस्पति विज्ञान विषयका अध्येताहरु सामाजिक रुपमा प्रयोगमा आउने सम्पूर्ण सामग्रीहरु बाँसको प्रयोगबाट निर्माण गर्न सकिने भएका कारण यसको राष्ट्रिय रुपमा नै संरक्षण तथा सम्बर्धन गरिनु आवश्यक भएको बताउँछन् ।
घर निर्माण, यज्ञादि कार्यका साथै हिन्दु धर्म शास्त्रअनुरुप मानवको मृत्यु संस्कार सम्ममा बांसको प्रयोग आवश्यक छ । नेपालको पहाडी क्षेत्रमा बाँसको पात राम्रो घाँसका रुपमा पनि प्रयोगमा आउँछ । त्यसैगरी डोका डाला एवम् नाङ्लाजस्ता कृषका सामाग्रीहरुको निर्माणमा पनि बाँसको नै प्रयोग हुनेगर्दछ । तर नेपालमा यसको आधुनिक प्रयोगका प्रविधिहरु भने अझै भित्रिन सकिरहेको छैन ।
सहज उत्पादन,बजार व्यवस्थापन,सामग्री निर्माण,वातावरण संरक्षण तथा पर्यावरण,सौन्दर्य सजावट,भूसंरक्षण आदिको दृष्टिकोणबाट उपयोगी बाँस अन्य वन सम्पदाको उत्तम विकल्प हुनसक्ने र आयुर्वेदिक दृष्टिकोणबाट समेत उत्तम औषधिका रुपमा रहने भएका कारण  यसको उचित संरक्षण तथा सम्बर्द्धन नेपाल जस्तो अल्प विकसित मुलुकका लागि अति नै महत्वपूर्ण हुनेमा दुईमत छैन ।
नेपाल औषधीय गुण बोकेका वनस्पति एवम् जडीबुटीका लागि विश्वकै एक महत्वपूर्ण भण्डारण मानिन्छ । तर यी जडीबुटीको खोज अनुसन्धान गरी औषधि निर्माणका कामका साथै जडीबुटीकै सेवन सम्बन्धी चेतना पनि देशका गाउँघरमा जगाउन सकिएको छैन । त्यसैले बास र यस्तै बहुऔषधीय गुण बोकेका वनस्पतिको संरक्षण, संबर्द्धन र उपयोगका लागि सरकारको विषेश पहल एवम् नीतिको खाँचो छ । 

No comments: